![]() |

पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे त्रिशुली नदीमा गाडीसहित वेपत्ता भएको १३ दिन वितिसकेको छ । घिमिरे मात्र होइन उनीसँग उनका दुई भाइहरु प्रकाश र मदन पनि १३ दिन अघि घोप्टेभीरबाट खसेर त्रिशुलीमा वेपत्ता भएका थिए । उनीहरुको अवस्था अहिले सम्म अज्ञात छ । शुक्रबारका राष्ट्रिय दैनिकमा माधव घिमिरेलाई श्रद्धाञ्जली छापिएका छन् ।
पूर्व गृहमन्त्री तथा प्रभावशाली प्रशासक भएका कारण पनि उनको दुर्घटनाप्रति धेरैको चासो देखियो । उनी वेपत्ता भएको दिन देखि घोप्टभिर वरपरको त्रुशुली नदी क्षेत्रमा उद्धार टोलीले खोजी जारी राखे पनि परिवारले भने उनीहरुलाई मृत मानिसकेको छ । घिमिरेको परिवारले गत असोज १४ गते कुशको शव बनाएर दाहसंस्कार पशुपतिमा गरे ।
राज्यले पूर्व प्रशासकको खोजी कार्य स्थगित भएको घोषणा नगरेपनि उनलाई परिवारले मृत मानिसकेको छ । अव घिमिरेलाई सकुशल भेटाउन सकिन्न भन्ने निष्कर्षमा परिवार पुगिसकेपनि राज्यले औपचारिकरुपमा यस्तो घोषणा गर्न सकेको छैन ।

घिमिरे दाजुभाइको खोजीका लागि दैनिक १८० जना सुरक्षाकर्मी परिचालित छन् ।अहिले सम्म पनि यो असम्भवप्रायः जस्तै हुन पुगेको खोजी कार्य स्थगित गर्ने निर्देशन माथिबाट स्थानीय पुलिस र उद्धारकर्ता गोताखोरलाई आएको छैन । दुर्घटनाको २४ घण्टापछि उनको मोबाइलबाट डिएसपीलाई फोन आएको भन्ने समाचारले समेत सनसनी मचायो तर त्यसको कुनै अर्थ निस्किन सकेन ।
पूर्व प्रशासक तथा गृहमन्त्री माधव घिमिरेले आफ्नो फेसबुकमा अन्तिम पटक गत ३१ अगष्टमा कुशे औंशी (बाबुको मुख हेर्ने दिन)को अवसर पारेर आफ्ना स्वर्गीय पितासहितको तस्विर राखेर गरेको पोष्ट नै उनको अन्तिम फेसबुक पोष्ट हो । त्यसपछि उनको फेसबुकमा अर्का एक ब्यक्तिले ट्याग गरेको पोष्ट मात्र देखिन्छ ।

पितालाई स्मरण गर्दै घिमिरेले फेसबुकमा लेखेका थिए, “पिता सृष्टि-निर्माणको अभिब्यक्ति हो । पिता आफैमा ब्राम्हाण्ड हो । पिता-देवता, गुरु, अविभावक र सच्चा मित्र पनि हो । सत्य, निष्ठा,निस्वार्थ, बिबेक, न्याय, स्नेह र समर्पणका शिखर-पुरुष स्वर्गीय पिता श्री तथा सम्पूर्ण पितृ-शक्तिहरुमा सत सत नमन ।”
त्यसपछि घिमिरेको फेसबुकमा केशव पुरी भन्ने ब्यक्तिले उनलाई एक धार्मिक समारोहमा घिमिरे उपस्थित भएका तस्विर पोष्ट गरेका छन् । त्यसपछि भने घिमिरेको फेसबुक निष्क्रिय देखिन्छ ।
शंकाको अर्कै डिस्कोर्स
करिव करिव तत्कालीन एमालेका महासचिव मदन भण्डारीको शैलीमा त्रिशुलीमा वेपत्ता हुन पुगेका पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनालाई कतिपयले भने शंकाको आँखाले हेरेका छन् । उनको दुर्घटना सामान्य नभएर प्रायोजित हुन सक्ने कतिपयको आशंका समेत देखिन्छ । मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५३१ नम्बरको जीप चितवनको मुग्लिन र कुरिनटारबीचमा आइतबार साँझ सडकबाट त्रिशुली नदीमा खसेको थियो ।
स्मरण रहोस् मदन भण्डारी पनि पोखराबाट फर्किने क्रममा दासढु्ंगामा दुर्घटनामा परेका थिए । उनीसँगै अर्का एमाले नेता जीवराज आश्रित पनि वेपत्ता भएका थिए । उनीहरुको दुर्घटनाले त्यतिबेला देश नै स्तब्ध हुन पुगेको थियो ।![]() |

0 comments:
Post a Comment