var adfly_advert = 'banner';

कोलकाता बन्दगाहमा अड्किए २० र ५० दरका नयाँ नोट




काठमाडौं– २० र ५० का नयाँ नोट कोलकाता बन्दगाहमा अड्किएपछि बजारमा अभाव भएको छ । विदेशमा छापेर कोलकाता बन्दगाहमा ल्याइपुर्याइएका ती नोट दसैंअघि नेपाल ल्याउन नसकिएका कारण अभाव भएको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

नयाँ नोट अभाव भएकै कारण बिहीबार राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग थापाथली पुगेका सर्वसाधारणले उक्त दरका नयाँ नोट साट्न पाएनन् । घन्टौं लाम लागेका सर्वसाधारणलाई बैंक कर्मचारीले २० र ५० रुपैयाँको नयाँ नोट नभएको जानकारी गराएका थिए।

‘बैंकका कर्मचारीले २० र ५० दरका नयाँ नोट छैन भन्ने जवाफ दिए,’ नयाँ नोट साटेर फर्कंदै गरेका दाङ तुल्सीपुरका बलराम डाँगीले भने, ‘घन्टौं लाइन बसेर पनि २० र ५० दरका नयाँ नोट पाइएन।’

विदेशमा छपाएर कोलकाता बन्दगाह ल्याइएका २० र ५० दरका नयाँ नोट दसैंअघि ल्याउन नसकिएका कारण कमी भएको राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले बिहीबार नागरिकलाई बताए । ‘२० र ५० का नोट कोलकातामा रोकिएका कारण अन्यको तुलनामा कम भएका हुन्,’ उनले भने, ‘दसैंलगत्तै ल्याउने छौं ।’

२० र ५० दरका नोट राष्ट्र बैंकले तीन वर्षअघि मात्रै छापेको थियो । गत वर्ष नाका अवरोधका कारण छाप्न नसकिएको पंगेनीले बताए । ‘३ वर्षअघि छापिएका नोटको स्टक सकिएकाले दसैंमा उक्त दरका नोट पर्याप्त वितरण गर्न नसकिएको हो,’ उनले भने, ‘दसैंलगत्तै ल्याएपछि पर्याप्त हुनेछ ।’

विदेशमा छापिएका नेपाली नोट कोलकातासम्म पानीजहाज र त्यहाँबाट रक्सौलसम्म रेलमा ल्याउने गरिन्छ । त्यहाँबाट सडकमार्ग हुँदै राष्ट्र बैंकको ढुकुटीमा ल्याउने गरिएको राष्ट्र बैंक अधिकारी बताउँछन् ।
नोट छाप्ने कम्पनीको विशेष निगरानीमा कोलकाता र त्यसपछि भारतका सुरक्षाकर्मी र राष्ट्र बैंकका कर्मचारीले रक्सौलसम्म र त्यसयता नेपाली सुरक्षाकर्मीको रेखदेखमा राष्ट्र बैंकको ढुकुटीसम्म ल्याइने गरेको उनीहरुको भनाइ छ ।

५० रुपैयाँ दरका नयाँ नोट दसैंलाई लक्ष्य गरेर इन्डोनेसियामा छापेर ल्याउन लागिएको थियो । गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएको ५० दरका ती नोट पहिलो खेपमा ३ करोड थान ल्याइएको थियो । दोस्रो खेपमा ल्याउन लागिएका ७ करोड थान नयाँ नोट कोलकाता बन्दगाहामै अड्किएका छन् ।

राष्ट्र बैंकले ५० रुपैयाँ दरका कुल २४ करोड थान छाप्न दिएको थियो । ‘दसैंलाई लक्ष्य गरेर ५० दरका १२ अर्ब मूल्य बराबरका नयाँ नोट छापेका थियौंं,’ सञ्चार माध्यमसँग बोल्ने अधिकार आफूलाई नभएको भन्दै नाम नखोलिदिन आग्रह गरेका राष्ट्र बैंकका एक कर्मचारीले भने, ‘ती सबै नोट ल्याउन सकेको भए अभाव हुँदैनथ्यो ।’

राष्ट्र बैंकले २० रुपैयाँ दरका २१ करोड थान (४ अर्ब २० करोड रुपैयाँ बराबर) का नोट ल्याउँदै छ ।

यसरी विदेशमा छापेर ल्याएका नयाँ नोट प्रमाणिकरण गरी राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र सोझै सर्वसाधारणलाई वितरण गर्ने गर्छ । राष्ट्र बैंकले यसपालि दसैंमा ८ अर्ब रुपैयाँका विभिन्न दरका नयाँ नोट साट्ने तयारी गरेको थियो । गत वर्ष ५ अर्ब ६९ करोड रुपैयाँ नयाँ नोट साटेको थियो ।

बैंक तथा वित्तीय संस्थाले करिब २ अर्बका नयाँ नोट साटेका छन् । सर्वसाधारणले पनि चार दिनमा १ अर्ब ५६ करोडका विभिन्न दरका नयाँ नोट साटिसकेका छन् ।

आइतबार थापाथलीबाट ३५ करोडका नयाँ नोट साटेका थिए । सोमबार ४५ करोडका, मंगलबार ५० करोडका, बुधबार २६ करोडका नयाँ नोट साटेर लगेको पंगेनीले बताए ।

२० र ५० का नयाँ नोट नभएपछि पछिल्लो दिन नयाँ नोट साट्नेको संख्या बढे पनि परिणाममा कमी आएको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ ।

राष्ट्र बैंकले थापाथलीबाहेक ७ शाखाबाट नयाँ नोट साटिरहेको छ । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी, सहकारी संस्थामार्फत पनि ठूलो मात्रामा नयाँ नोट सर्वसाधारणले साट्दै आएका छन् ।

केन्द्रीय बैंकले मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार रुपैयाँ पाउने गरी नयाँ नोट वितरण गरिरहेको छ । ‘कम भएका २० को सट्टामा १०–१० दरका नोट दिइरहेका छौं,’ पंगेनीले भने । उपत्यकाबाहिरका बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंकका क्षेत्रीय कार्यालयबाट पनि नयाँ नोट साट्ने व्यवस्था मिलाइएको छ ।

थापाथलीबाट एक व्यक्तिले ५, १०, २०, ५० र सय दरका नयाँ नोट ३७ हजार रुपैयाँसम्म साट्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको थियो । तर, २० र ५० नयाँ नोट नभएपछि एक व्यक्तिले ३७ हजार नोट साट्न सकिरहेका छैनन् । गत वर्ष सर्वसाधारणलाई प्रतिव्यक्ति बढीमा २२ हजार रुपैयाँसम्म नयाँ नोट दिइएको थियो ।

दसैंका लागि नयाँ नोट साट्ने व्यक्तिको भिडलाई ध्यान दिँदै यस वर्ष केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले कुपन व्यवस्था मिलाएको छ । कुपन नम्बर वितरण भए पनि सर्वसाधारणले सहज रुपमा नयाँ नोट साट्न पाएका छैनन् ।

दसैंमा सबैभन्दा बढी २०, ५० र १०० दरका नोट प्रयोगमा आउने राष्ट्र बैंकको भनाइ छ । प्रचलनमा बढी आउने २० र ५० दरका नोट नै अभाव भएका छन्
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment