![]() |
•जीएस पौडेल
सुडानमा बढीरहेको ईस्लामको प्रभाव पश्चिमा मुलुकहरुको टाउको दुखाइ भए पनि उनीहरुको मुख्य उद्देश्य थियो सुडानको अथाह तेल भण्डारमाथि कब्जा गर्नु । शिकार गर्नु, सामान्य खेतिपाती गर्नु र सरल जिन्दगी विताउनु अधिकांश गरीब सुडानीको दैनिकी थियो । अवश्य पनि, सुडानका गरीब जनतालाई बिकास, समृद्धि, अधिकार र पहिचानको खाँचो थियो तर जुन हेतुका लागि ती जनतालाई पश्चिमाहरुले अधिकार र पहिचानको नाममा गृहयुद्धमा होमे, सोझा जनतालाई जबर्जस्ती स्वैरकल्पनामा डुबाएर बन्दुक थमाइए र अन्तत सुडान टुक्र्याएर दक्षिणी सुडान बनाइयो । त्यसपछिको नतिजा के थियो ? कहाली लाग्छ, आङ सिररिङ्ग गर्छ । ६० भन्दा बढी जातजाति भएको सुडानमा पश्चिमाहरुले बिखण्डनवादी र अराजकवादी नाराहरु घन्काए ताकि जनतालाई एक भ्रमित सपना देखाएर सुडानको अथाह तेल भन्डार हडप्ने उनीहरुको खेलमा सुडानीहरुले नै आफ्नो प्राणको आहुती देउन् र पश्चिमाहरुको स्वार्थको लागि देश टुक्र्याइदिन सकुन । धर्मको भेदभावको नारा उरालियो, त्यस्तै जातीय भेदभावको नारा उरालियो, पहिचानको नारा उरालियो, जे जे नारा उराल्दा जनता आकर्षित हुन्छन् ती सब नाराहरु उरालिए । भोका नाङ्गा सुडानीलाई पेट भर्न अन्न दिएनन्, आङ ढाक्न लुगा दिएनन् तर, परस्परमा लड्न बन्दुक भने निःशुल्क दिए पश्चिमाहरुले ।
पहिचानको नाममा जति नाराहरु मेरो देशका कुना कन्दरामा घन्किएका छन् मलाई डर छ, एक दिन मेरा छोराहरु पनि नाङ्गो शरिरमा स्वचालित हतियार बोकेर जातीय लडाईंको भुमीबाट मलाई खबर पठाउने छन् –‘बाबा बन्दुक पाएको छु, खाना पाएको छैन ।’
एक भ्रमित गोरेटोमा अधिकार खोज्न हिंडेका दक्षिणी सुडानीले २०११ जुलाई ९ मा आफ्नो ‘अधिकार’लाई वैधानिक त बनाए दक्षिणी सुडान बनाएर तर त्यस बाहेक के पाए जनताले ? सुडानको मुख्य अर्थतन्त्र धानेको तेल भण्डारको झन्डै ८५ प्रतिशत हिस्सा दक्षिणी सुडानमा पारिएको थियो, तर अनुमान लगाउन सकिन्थ्यो कि पश्चिमाहरुले आफ्नो मुठ्ठीमा राखीसकेको दक्षिणी सुडानमा अब के हुनेवाला थियो र ? उनीहरु अधिकार र पहिचानको नशामा लठ्ठिदै थिए र आज पनि लठ्ठिदै छन् । पहिचानको नाममा दक्षिणी सुडान नामक एउटा कागजको खोस्टो बाहेक उनीहरुले केही पाएनन् तर पश्चिमाहरुले त्यहाँको तेल भण्डार पाए । आज जुन स्थितिमा उनीहरु गुज्रिरहेका छन् त्यो कुनै नर्कको जिन्दगी भन्दा केही फरक छैन । दक्षिणी सुडानलाई समृद्धिको दिशामा लैजान उनीहरुको हिस्सामा परेको ८५ प्रतिशत तेलखानी मुख्य चिज थियो । तर त्यो दक्षिणी सुडानमा पारिनुको कारण दक्षिणी सुडानको आर्थिक बिकासको लागि नभएर अर्कै थियो । त्यही कारणलाई परिणाममा पुर्याउन पश्चिमाहरुको दोस्र्रो खेलको प्ररम्भ भयो, त्यो थियो दक्षिणी सुडानलाई फेरी गृहयुद्धमा होम्ने । जनतलाई फेरि बन्दुक बोकाउने र देशलाई अत्यन्त अस्थिर र नाजुक अवस्थामा राख्ने योजना मुताविक नयाँ देश बनेको २ बर्ष बित्दा नबित्दै, नयाँ सुडानमा फेरि रक्तपात सुरु भयो । बिकाउ राजनीतिमा आधारित भएर राष्ट्रपति र तत्कालीन उपराष्ट्रपतिबीच आज जुन रक्तपात र बर्बरता दक्षिणी सुडानमा भैरहेको छ त्यसको एउटै उद्धेश्य हो सुडानी जनतालाई अधिकार र स्वतन्त्रताको खोलमा अराजकता र द्वन्द्वमा होमेर उनीहरुको तेल भण्डारमा पश्चिमाहरुको एकाधिकार स्थापित गर्नु ।
अधिकार र पहिचानको नाममा शिकार भएका ती निमुखा जनतासँग बन्दुक र गोली बाहेक अरु केही बाँकी छैन र ती बन्दुक र गोलीहरु पनि पश्चिमाहरुले दिएका कथित अमुल्य उपहारहरु बनेका छन् । हरेक दिन सुडानका अनगिन्ती गल्लीहरुमा निमुखा गरीब जनताका लास यसरी मिल्काइएका हुन्छ्न, मानिसहरु त्यही गल्लीबाट आवत जावत गर्छन्, तर ती अनगिन्ती लासलाई कठै भनेर दाहसंस्कार गर्ने कोही भेटिदैन । मानौं ती मान्छेका लासहरु नभएर कुकुरका सिनोहरु हुन् । मिसनमा हिंडेका छापामारहरु खबर पठाउँछन् कि हप्तौं भयो खाली पेट बसेको, कोही थोरै खाना पठाइदेउ । एक गाँस खाना, जो आँफैमा एउटा सपना जस्तो भएको छ आज त्यहाँ, तर, बन्दुक र गोली सबैसँग हुन्छ । गोलीले नमरेकाहरु भोकले मरिरहेका छन् । कलिला बच्चाहरुसँग टिठलाग्दो जिन्दगीमा कुपोषणको शिकार भएर मृत्यु कुर्नु बाहेक कुनै बिकल्प छैन । । खेलौनाको नाममा बन्दुक उपलब्ध छ, शिक्षाको नाममा कथित अधिकारका भ्रान्तिपूर्ण नाराहरु र बिकासको नाममा बारुदले उडेको उराठलाग्दो जमीन । दक्षिणी सुडानको झन्डै दुई दशक लामो गृहयुद्धमा ४० लाख भन्दा बढी नागरिकले देश छोडे, २० लाख भन्दा बढी जनता मारिए, र ५० हजार भन्दा बढी सुडानीहरु त कथित अधिकार र पहिचान प्राप्त भनिएको दक्षिणी सुडान बनेपछि नै मारिए । अझ कति मर्ने हुन् ठेगान छैन । के यो सब लडाँई यही उराठलाग्दो सुडानको लागि थियो र हुँदै छ ? खै कहाँ छ तिनको अधिकार ? खै कस्तो पहिचान पाए सुडानीहरुले ?
सुडानका गल्लीहरुमा हरेक दिन लास यसरी मिल्काइएका हुन्छ्न, मानिसहरु त्यही गल्लीबाट आवत जावत गर्छन्, तर ती अनगिन्ती लासलाई कठै भनेर दाहसंस्कार गर्ने कोही भेटिदैन । अनि म जातीय पहिचानका लागि आगो बालिरहेको मेरो देश यहीँ बसेर सम्झन्छु ।
जब जब सुडानका कहालीलाग्दा तस्बिरहरु मेरा आँखामा पर्छन्, मेरो मनको एउटा अन्तरकुनाले मलाई तत्काल मेरो देश पुर्याईदिन्छ । आवरणमा फरक देखिए पनि र विस्तारवादीहरुको उद्धेश्य फरक भए पनि, अधिकार र पहिचानको नाममा जब जब मेरो देशको सडकमा धुँवा उड्छ म ती धुँवाका मुस्लामा भोकले मरेका सुडानीहरुको प्रतिबिम्ब पाउँछु र नेपालीलाई सुडानी बनाउन पहिचानको नाममा लगानी गरेका पश्चिमाहरुलाई आगो फुकिरहेको अनुहारमा देख्छु । अहँ, म पहिचान बिरोधी होइन र हुन सक्दिनँ, तर पहिचानको नाममा जति पनि कथित उग्र नाराहरु मेरो देशका कुना कन्दराहरुमा घन्किएका छन् र त्यसको आडमा टेकेर मेरो शान्ति भूमीलाई साम्प्रदायिक हिंसाको रणभूमी बनाउने प्रयास भैरहेको छ, मलाई डर छ कि एक दिन मेरा छोराहरु पनि नाङ्गो शरिरमा स्वचालित हतियारहरु बोकेर जातीय लडाईंको भुमीबाट मलाई खबर पठाउने छन् –बाबा बन्दुक पाएको छु, खाना पाएको छैन ।’ , मलाई डर छ कि जनयुद्दको भ्रमित लडाईंमा दशक बढी रोईसकेको मेरो देश फेरि पहिचानको अर्को युद्दमा पिल्सिने छ ।
जसरी तेलखानीमाथि परेको विस्तारवादीहरुको आँखाले आजको दक्षिणी सुडान निर्मम पीडा ब्यहोर्ने थलो भएको छ, त्यसरी नै धेरै अघिदेखि नेपालको भूगोल तिनै विस्तारवादीको आँखामा परेको छ । विश्व शक्तिकेन्द्रको प्रभुत्वबाट ओरालो लाग्दै गरेको पश्चिमी ताकतले, पूर्वबाट शक्तिकेन्द्रको रुपमा उदाईरहेको चीनलाई नरोकेको खण्डमा छिट्टै नै विश्वबाट आफ्नो अधिपत्य गुमाउने छ । चीनलाई रोक्न उनीहरुले पहिल्याएको अस्त्र स्वतन्त्र तिब्वत हो । दलाई लामाहरुलाई प्रयोग गरेर स्वतन्त्र तिब्वतको लडाईंमा चीनलाई होम्ने योजना तब मात्र सफल हुनेछ जब नेपालको भुमीमा उनीहरुको हैकम लादिने छ । पञ्चशीलको परराष्ट्र नीति बोकेको एक सार्वभौम देश नेपाललाई प्रयोग गर्न सजिलो नहुने भएपछि, सुडानीहरुलाई देखाएजस्तै एउटा पहिचानको सुन्दर र कपोकल्पित भ्रम देखाएर सोझा नेपालीलाई सुडानीजस्तै बनाउने अभियानमा छन् । यसमा अब कुनै भ्रम छैन कि तिब्वत छिरेर चीनलाई घाइते पार्ने उद्धेश्य प्राप्तिका लागि बाधा बनेको नेपालको अखण्डता र जनता जनता बीचको सद्भावलाई खलबल पार्नकै लागि माओवादी जन्माईएको थियो । यो उनीहरुको पहिलो ठूलो ग्राउन्ड अपरेशन थियो । नेपालको अपार जलस्रोत, आकर्षक जमीन र सम्पदामाथी आँखा गाडेर बसिरहेको भरत यो खेलमा मिसिनु र नेपालमा रहेको उसको सुक्ष्म म्यानेजमेन्ट र भौगोलिक सरलताका कारण पश्चिमाहरुले भारतलाई यस खेलमा सामेल गर्नुमा कुनै आश्चर्य थिएन ।
मिसनमा हिंडेका छापामारहरु खबर पठाउँछन् कि हप्तौं भयो खाली पेट बसेको, थोरै खाना पठाइदेउ । एक गाँस खाना, सपनाजस्तो भएको छ आज त्यहाँ, तर, बन्दुक र गोली सबैसँग छ । गोलीले नमरेकाहरु भोकले मरिरहेका छन् ।
विस्तारवादीहरुको डिजाईनमा माओवादीले सर्वहाराको लागि जनयुद्ध भनेर एउटा मिठो भ्रमित नारा उराल्यो, जसरी एउटा सम्पन्न दक्षिणी सुडानको मिठो सपना देखाइेको थियो सुडानीहरुलाई । गरीब सर्वहारा जनताका लागि बन्दुक उठाएका सोझा नेपालीहरुले, गरीब सर्वहाराकै घाँटी रेटीरहे तर उनीहरुलाई महान क्रान्तिको एउटा यस्तो नशा पिलाइेको थियो कि उनीहरुले आफू कुन दिशातिर हिंड्दै छु भन्नेसम्म थाहा पाएनन्, जसरी सुडानिहरुले थाहा पाएका थिएनन् देश टुक्र्याएर तेल लुट्ने पश्चिमाहरुको योजना । सुडानमा सुफिस्ट र क्रिस्चियन बिरुद्ध अन्तरद्वन्द्व पैदा गरेर अराजकतालाई बढावा दिएजस्तै, नेपालमा हिन्दुहरुप्रति वितृष्णा पैदा गर्नको लागि जवर्जस्ती हिन्दू धर्म खारेज गरियो । यसो भनी रहदा मैले केवल धर्म निरिपेक्ष गराइनुको नियतलाई जोड दिएको हुँ । धर्मान्तरणलाई धर्म निरपेक्षताको अर्थ लगाइयो । उत्तरी सुडानका जातजातिहरुले दक्षिणी सुडानका जातजातिमाथि बिभेद गरेको भन्दै कान फुकेजस्तै जतीय राज्य हुनु पर्ने र सबै बाहुनहरु सामान्ती नै हुन्छन्, बाहुनहरु पीडित नै छैनन् भन्ने जस्तो ठूलो भ्रम फैलाउन कति डलर खर्च गरिएको छ हिसावै छैन । हो, धेरै जनता नेपालमा गरिवीको रेखामुनी छन् । तर त्यो जातीवादी चिन्तनले हो वा सामन्तवादले हो, के हामी यती पनि नबुझ्ने अबुझ हौं ? के सबै बाहुनहरु धनी र सबै जनजातिहरु गरीब छन् ? के सबै पहाडीहरु धनी र सबै मधेसीहरु गरीब छन् ? जनजातिहरुमा गरीब पनि छन् र धनी पनि छन् । तिनै गरीब जनजातिहरुको नाम बेचेर धनी जनजातीहरु ऐस गरी रहेका छन्, गरीब गरीब नै रहने हो सधैं । त्यस्तै माथिल्लो जातका बिल्ला भिरेका जातिहरुमा धनी पनि छन् र गरीब पनि छन् । यता पनि धनीहरु ऐस गर्छन् र गरीबहरु पीडित नै छन् । तर पश्चिमाहरुको डलर खाएका बिखन्डनवादीहरुले गरीब जनजातिलाई देखाएर धनी जनजाति अगुवालाई तिनका मालिक बनाउँछन्, बनएका छन् ।
पश्चिमाको इसारामा चलेको नेपालको कथित जनयुद्धले गरीब सर्वहाराकै घाँटी रेटीरह्यो तर उनीहरुलाई महान क्रान्तिको एउटा यस्तो नशा पिलाइएको थियो कि उनीहरुले आफू कुन दिशातिर हिंड्दै छु भन्नेसम्म थाहा पाएनन्, जसरी सुडानीहरुले थाहा पाएका थिएनन् देश टुक्र्याएर तेल लुट्ने पश्चिमाहरुको योजना ।
हामी विस्तारवादीहरुको एउटा सुनियोजित चक्रब्यूहमा बिस्तारै बिस्तारै फस्दै गैरहेका छौं । हामीलाई उनीहरुले फैलाएको भ्रम पनि सत्य हो कि जस्तो लाग्न थालेको छ । जसबाट हामी सबै सतर्क रहनु जरुरी थियो, छ । स्पष्टै छ कि उनीहरु जातिको नाममा, धर्मको नाममा, भूगोलको नाममा, छालाको रङको नाममा जनता जनता बीच उत्पात हिंसा मच्चाउन चाहन्छन् र आफ्नो स्वार्थ पूरा गर्न चाहन्छन् ।
अधिकारको लडाईं भनेको बर्ग संघर्सको लडाईं बाहेक कुनै लडाईं हुनै सक्दैन । जो धनी छन्, जो सम्पन्न छन्, तिनिहरुलाई उनीहरुकै जत्तिको हैसियतमा गरिवहरुलाई पुर्याउनका लागि राज्यका कार्यक्रम चाहिन्छ । जातीय क्षेत्रीय कुरा उचालेर त्यस्तो राज्य बनाउन पश्चिमाहरु नै दिंदैनन् । सामन्ती र विस्तारवादीहरु हामीलाई हाम्रै आग्लो निकालेर मार्न लागिरहेका छन् हामीले त्यसको जवाफ दिन सकेनौं भने सुडानीहरुको नियती भोग्नु पर्ने दिन आउने छ ।
पहिचानको नाममा दक्षिणी सुडान नामक एउटा कागजको राज्य बाहेक सुडानीहरुले केही पाएनन् तर पश्चिमाहरुले त्यहाँको तेल भण्डार पाए ।
![]() |

0 comments:
Post a Comment