var adfly_advert = 'banner';

घोषणा नभए पनि नेपाल हिन्दु राष्ट्र नै होः देउवा



नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमा जे लेखिए पनि नेपाल हिन्दु राष्ट्र नै भएको बताएका छन् । उनले भने, ‘संविधानमा हिन्दु राष्ट्र होस्, नहोस् तर नेपाल हिन्दु राष्ट्र नै हो । म हिन्दू नै हुँ अनि नेपाली जनता हिजो पनि हिन्दु थिए र अहिले पनि छन् यसमा दुई मत छैन ।’

‘१२ वर्षे पूर्ण महाकुम्भ मेला’ स्मारिकाको शुक्रबार ललितपुर शंखमुलस्थित जगद्गुरु आ श्रममा विमोचन गर्दै सभापति देउवाले जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यका कारण नेपालले हिन्दू राष्ट्र भएको महसुस गर्ने बताए । उनले भने, ‘नेपालले बालसन्तजस्तो जगद्गुरु पाउनु गर्वको विषय हो । उहाँ महाकालीमा ७५ जिल्ला समेटेर ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बनाउने अभियानमा ७५ जिल्लाकै पैदलयात्रामा हुनुहुन्छ ।

यो चानचुने कुरो र प्रयास होइन, यो मूर्तिले हिन्दू राष्ट्रको आभासमात्र गराउँदैन नेपाल राष्ट्रको गौरव नै बढाउने छ ।’ नेपालका प्रथम जगद्गुरु बालसन्तले नेपाल पैदलयात्राको क्रममा ३९ जिल्लाको भ्रमण सकेर अहिले राजधानी आएको र अबको एक वर्षमा सबै जिल्लाको भ्रमण गरिसक्ने बताए ।

प्रत्येक नेपालीबाट कम्तिमा एक एक रुपैयाँ संकलन गरेर मूर्ति बनाउने अभियानमा लागेको बताउँदै उनले भने, ‘बिसे नगर्चीले एक एक रुपैयाँ उठाउनु भन्ने सुझावले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले विशाल नेपाल बनाए भने म पनि तीन करोड नेपालीबाट एक एक रुपैयाँ उठाएर नेपाल आमाको मूर्ति बनाउनेछु जसमा प्रत्येक नेपालीको पसिना र आत्मियता हुनेछ ।’

मूर्ति निर्माण नेपाल र मेचीदेखि महाकालीका नेपालीलाई एउटै मुटुमा जोड्ने अभियान भएको उनको भनाई छ । ‘पूर्वका नेपाली अब महाकालीको भम्केनी धाममा निर्माण हुने आमाको मूर्ति हेर्न पुग्छन् अनि सुदूरपश्चिमका नेपाली भारतको सट्टा सुनसरीको बराह क्षेत्रको कुम्भमा पुग्नेछन्’, जगद्गुरुले भने, ‘पैदल यात्राको तीतो सत्य पनि मसँग छ, क्रिश्चियनले देश बिगार्दैछन् । नेपाल र नेपालीको सनातन वैदिक धर्म, संस्कृति र परम्परा हामीले नै जोगाउने हो, सबै सचेत होऔं ।’

स्मारिकाका लेखक एवं संकलक प्रमुख सूचनाआयुक्त कृष्णहरि बास्कोटाले स्मारिकाले देशलाई माया गर, सकारात्मक सोच, कर्म गर, धर्म र संस्कृति जोगाउ, के पाएँ होइन देशलाई के दिएँ सोचजस्ता विषय सिकाउने बताए । ‘नेपालले पहिलो जगद्गुरु पाएको छ, जगद्गुरुको अथक प्रयास र शास्त्रीय प्रमाणका आधारमा नेपालमै अर्ध कुम्भ, कुम्भ र १२ वर्षे महाकुम्भ समेत पाएको छ’, उनले भने, ‘अब सरकारले कुम्भका लागि प्रत्येक वर्ष एक करोड रुपैयाँ छुट्याउनु पर्छ, कम्तिमा १२ करोडको अक्षय कोष भए भारतका चार कुम्भभन्दा नेपालको कुम्भ उत्कृष्ट हुनेछ ।’

यसका लागि सञ्चालन निर्देशिका बनाएर पेश गर्ने उनले जानकारी दिए । पूर्वमन्त्री टंक ढकालले धर्म विनाको राज्य हुन नसक्ने बताए । उनले भने, ‘नियोजित ढंगबाट हिन्दू राष्ट्र समाप्त पार्ने षडयन्त्र हुँदैछ, यसलाई जोगाउन जगद्गुरुले नेतृत्व लिनैपर्छ ।’ पूर्वसंस्कृतिमन्त्री मिनेन्द्र रिजालले मान्छेले अन्ततः टेक्ने ठाउँ भनेको धर्म नै भएको बताए ।

पूर्वमन्त्री गोपाल शाक्यले नेपाल पूर्ण हिन्दु राष्ट्र हुनैपर्नेमा जोड दिए । पूर्वमन्त्री एनपी साउदले पनि हिन्दु धर्म नै नेपालको पहिचान भएको दाबी गरे । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अनन्त ज्ञानको पुञ्ज जगद्गुरु भएको बताउँदै बराह क्षेत्रको कुम्भले नेपाललाई विश्वमा पहिचान र प्रतिष्ठा दिएको बताए ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment