![]() |
कतारमा नेपालीलगायतका कामदारमाथि चर्को श्रम शोषण गरेको, मानव अधिकार हनन गरेको लगायतका मुद्दा अन्तर्राष्ट्रियकरण भएसँगै त्यहाँको सरकारले विभिन्न अस्पतालमा वर्षौंदेखि रहेका नेपाली कामदारलाई फिर्ता पठाउने क्रम बढाएको हो। स्रोतका अनुसार कतारस्थित हमाद अस्पतालले त्यस्ता बिरामीलाई सकेसम्म छिटो फिर्ता पठाउन दोहास्थित नेपाली दूतावासमा दबाब दिइरहेको छ।
पछिल्लो ६ महिनामा मात्रै कोमामा रहेका पाँच जनालाई कतार सरकारले फिर्ता पठाइसकेको छ। कतारले २०६६ असोज २ देखि हमाद अस्पतालको कोमामा रहेका नारायणस्थान ९ बाग्लुङका विष्णुबहादुर सुवेदीलाई गत फागुनमा फिर्ता पठाएको थियो। असार १५ मा बर्दिया मगरागढी ८ रम्भापुरका हरिबहादुर बस्नेत र गोर्खा सौरपानी ७ का कालु गुरुङ घर फर्किए। दुई साताअघि बाग्लुङका गिरीप्रसाद विक र रुकुम शंख गाविसका २ का मनोज केसी पनि घर फर्किएका छन्।
२०६५ भदौ १९ देखि हमाद अस्पतालको कोममा रहेका महेशपुर १ झापाका श्रीबहादुर नेम्बाङलाई पनि फिर्ता पठाउन अस्पतालले पहल थालिरहेको छ। स्रोतका अनुसार परिवारका सदस्यको स्वीकृति दिनेबित्तिकै श्रीलाई फिर्ता पठाउने अन्तिम प्रक्रिया सुरु हुनेछ। त्यस्तै तीन वर्षदेखि कोमामा रहेका धनुषा नुवाखोर प्रसनी २ का बिन्दे मुखिया विनलाई पनि नेपाल फिर्ता पठाउन अस्पतालले पहल गरिरहेको छ।
गत वर्षको २१ मंसिरमा परराष्ट्र मन्त्रालयको कतारका विभिन्न अस्पतालमा कोमामा रहेको नेपालीको विषयमा कार्यदल नै बनाएर अध्ययन गरेको थियो। उक्त कार्यदलले १६ जना नेपाली विभिन्न अस्पतालमा वर्षौंदेखि कोमामा रहेको निष्कर्ष निकालेको थियो। तर नेपाली कामदारलाई स्वदेश झिकाउने र तिनीहरूको उपचार प्रबन्धको पहल गर्ने भन्ने कार्यदलको सुझाव कार्यान्वयनमा आउन सकेन।
उपचारमा समस्या
कतारको सुविधा सम्पन्न अस्पतालमा वर्षौंसम्म उपचार गर्दा पनि सुधार हुन नसकेका बिरामीलाई नेपाल पठाएपछि भने परिवारका सदस्यले गतिलो उपचार प्रबन्ध गर्न सकेका छैनन्। आर्थिक अभावका कारण धेरैजसोले केही समय अस्पतालमा राखेर बिरामीलाई घरमै लगेका छन्। कतार पसेको आठ वर्षपछि फर्केका रुकुमका मनोज केसी ६ वर्षयता अचेत अवस्थामा हमाद अस्पतालको कोमामा थिए। दुई साताअघि नेपाल ल्याइएका उनलाई केही दिन पाटन अस्पतालमा राखेर रुकुम शंख गाविस २ स्थित घरमै पुर्याइयो। मनोजकी आमा बेलमताले आठ वर्षपछि अचेत अवस्थामा रहेको छोरालाई देख्न पाइन्। आजको कान्तिपुर दैनिकमा खबर छ।
![]() |

0 comments:
Post a Comment