![]() |
काठमाडौं, ३१ साउन - कोही खान नपाएर छट्पटाइरहेछन्, कोही खाना धेरै भएर, खाइदिने मान्छे नपाएर छट्पटाइरहेछन् । यस्तै हालत छ अहिले प्रचण्ड सरकारमा । प्रधानमन्त्री प्रचण्डको पार्टी माओवादी केन्द्रसँग सरकारी पद छेलोखेलो छ तर पद खाइदिने औकात भएका मानिस छैनन्।
पार्टीलाई पुगिसरी आएको छ तर, सिर्फ एउटा चिजको अभाव छ - मन्त्री पदको । पार्टीका भएभरका सांसद मन्त्री बन्न अपहत्ते गरेर लागिरहेका छन् तर अन्य पदहरुका लागि मान्छे नपाएर प्रचण्डको बेहाल भएको छ।
बल्लतल्ल आइतबार प्रचण्डले आफ्नो पार्टीका केहीलाई मन्त्री पद दिएका छन् तर एकजनाले भने खान मानेनन् । मन्त्री खान नमान्ने ती सांसद हुन् प्रभु सहा । उनी अहिले राज्यमन्त्री सरहको संसदीय समितिका सभापति पदमा छन्।
अधिवक्ता पृष्ठभूमिको भएकाले प्रचण्डले उनलाई कानुनमन्त्री बनाउन खोजेका थिए । तर, उनले पाँच पैसा कमाई नहुने मन्त्रालय नखाने घोषणा गरेका छन् । पार्टीका सांसदहरुबीच प्रभुले ठाडै भनेका छन्। अब मधेसमा चुनाव लड्न घटीमा दुई करोड रुपैयाँ लाग्छ तर मसँग त्यति रकम छैन, कमाउन नपाइने हो भने किन मन्त्री बन्ने ?
मन्त्रीको भरमा मात्र सरकार चलाएर हुन्न, यसका लागि सल्लाहकार र विज्ञहरुको बलियो टिम चाहिन्छ भन्ने भरखर भरखर मात्र बुझ्न थालेका प्रचण्डले ठूला पदका लागि अघोषित रुपमा दर्खास्त आह्वान नै गरेका छन्।
उनले आर्थिक सल्लाहकार, सल्लाहकार, वैदेशिक सल्लाहकारलगायतका विभिन्न पदमा भर्ती गर्न मानिस पाएका छैनन् । दुनियाँलाई देखाउन लायक विज्ञ र आफूलाई पनि सहयोग गर्ने खालका विज्ञ मानिस प्रचण्डलाई चाहिएको छ। आजको साँघु साप्ताहिकमा खबर छ।
![]() |

0 comments:
Post a Comment