![]() |
काठमाण्डु, ३२ साउन– नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी एक नेतृ पार्टी अनुशासन तोडेको आरोपमा कारबाही परेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राज्यमन्त्रीमा नियुक्त भएकाहरुबारे अपशब्द प्रयोग गरेर स्टाटस लेखेको आरोपमा संगठनले प्रस्तावित केन्द्रीय सदस्य सावित्री सुवेदीमाथि कारबाही गरेको हो ।
क्रान्तिकारी संयोजक नरेन्द्र न्यौपानेले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ‘प्रचण्डे’ र हत्यारा तथा राज्यमन्त्रीहरुलाई ‘भोटिनी’ र ‘कमिनी’ जस्ता तुच्छ र सामाजिक सदभावविरोधी शब्द प्रयोग गरेर स्टाटस लेखेका कारण सुवेदीलाई संगठनको साधारण सदस्यमेत नरहने गरी कारबाही गरिएको जानकारी दिए ।
सुवेदीले आफ्नो स्टाटसमा प्रचण्डको नाम ‘प्रचण्डे’ लेखेकी छन् । प्रचण्डको नेतृत्वमा भारतीय सरकार बनेको उनको पोष्टमा छ । ‘प्रचण्डेको नेतृत्वमा भारतीय सरकार, हत्यारा प्रचण्डे मूर्दावाद !’ उनले लेखेकी छन् ।
अर्को स्टाटसमा उनले लेखेकी छन्, ‘भोटिनी’ र ‘कमिनी’ ले राज्यमन्त्री पाए ! अब त दलित र जनजातिले निकम्मा सरकार मुर्दावाद भन्ने दिन गए !’ त्यस्तै आरक्षण खारेज गर्न पनि उनको माग थियो । माओवादीका राधिका तामाङ र धनमाया विक केही दिनअघि राज्यमन्त्रीमा नियुक्त भएपछि आक्रोशित हुँदै सुवेदीले स्टाटस लेखेकी हुन् ।
‘संगठनमा बसेपछि निश्चित आचरण र अनुशासनको दायरामा रहनैपर्छ’, न्यौपानेले काठमाण्डु टुडेसँग भने, ‘सावित्रा सुदेवीले संगठनको सदस्यको नैतिकताभन्दा बाहिर गएर जसरी मन्त्रीहरुलाई ‘भोटिनी र कमिनी’ जस्ता तल्लोस्तरका शब्द प्रयोग गरेर स्टाटस लेखिन्, उनलाई यो संगठनमा राख्न हामीले सकेनौं ।’
फेसबुकमा स्टाटस आएपछि सम्पर्क गर्न खोज्दा सम्पर्कमा नआएको र स्टाटस हटाउन साथीहरुमार्फत पठाएको खबर बेवास्ता गरेपछि बाध्य भएर कारबाही गरिएको उनले बताए । कारबाही गरेपछि भने उनले पोष्ट हटाएकी छन् । न्यौपानेले संगठनभित्रै बसेर आफूलाई चित्त नबुझेका विषयमा बहस गर्न सकिने भए पनि आगामी दिनमा संगठनको आचरणविपरीत बाहिर अभिव्यक्ति दिने जो कोहीमाथि कारबाही गरिने चेतावनी दिए ।
![]() |

0 comments:
Post a Comment