var adfly_advert = 'banner';

यसरी पास गर्नुस् लोकसेवा परीक्षा




मरिमेटेर लेख्दैमा मात्र पनि हुँदैन, किताब हुबहु घोकेर मात्रै पनि हुँदैन । पढेका कुरालाई चिन्तन–मनन गर्नुपर्छ । तथ्य र तर्कलाई अनुभव वा महसुस गर्न पनि सक्नुपर्छ । यसका लागि लेखेर पढ्नु राम्रो विधि हुन सक्छ ।
अनुभवी शिक्षकहरूसँग गरिएको वार्तामा आधारित
फातिमा बानु

आजभोलि धेरै नेपाली युवाको सपना हुन्छ– लोकसेवामा नाम निकाल्ने, सरकारी जागिर खाने । पछिल्लो समय नेपालमा निजामती सेवाको आकर्षण बढ्दो छ । खुलेका पदभन्दा सयौँ गुणा बढी आवेदन पर्छन् ।

देशमा बेरोजगारहरू बढिरहनु, अनि सरकारी जागिर भरपर्दो र सानदार (प्राइभेट जागिरको तुलनामा तलबभत्ता राम्रै) हुने हुँदा पनि यसप्रति युवा आकर्षण बढेको हो ।

लोकसेवा परीक्षा तयारीका लागि विशेष ट्युसन, कोचिङ सेन्टर पनि सहरमा थुप्रै खुलेका छन् । अनुभवीहरू भन्छन्– लोकसेवामा नाम निकाल्न सजिलो छैन, सामान्य कक्षा लिएर वा स्वअध्ययनले मात्रै पुग्दैन, विशेष विधि र तरिका पनि अवलम्बन गर्नुपर्ने हुन्छ ।

तयारी कक्षा पढाउने शिक्षक वेद भण्डारी भन्छन्, ‘लोकसेवा आयोगको परीक्षा सोचेजस्तो सहज त नहोला, तर असम्भव पनि छैन । परीक्षा तयारी विधि र तौरतरिका वैज्ञानिक एवं व्यवस्थित बनाउँदै यसप्रतिको लगाव र झुकाव बढाउनुपर्छ, यसरी नियमित मेहनत गरेमा पास गर्न सकिन्छ ।’

कडा परिश्रम गर्ने पनि बारम्बार फेल भएको र तुलनात्मक रुपमा कम मेहनत गर्ने पनि पास भएको भण्डारीले थुप्रै देखेका छन् ।
‘यसो हुनुको कारण पढाइको विधि र तरिका नै हो,’ उनी भन्छन्, ‘लोकसेवा परीक्षा अन्धाधुन्ध तयारी गर्ने कुरै होइन, पढ्दा सूत्रहरू बनाएर, रूटिन बनाएर बढ्नुपर्छ ।’

दिनमा ३ देखि ४ घन्टा पढ्दा पनि पुग्ने भण्डारी सुझाउँछन् । यसमा उनी खास सूत्र बताउँछन् । ‘लेखेर पढ्नु धेरै प्रभावकारी हुन्छ । यो धेरैलाई थाहा भएको हुन सक्ने सामान्य तर परिमाणमुखी तरिका हो । लेखेर पढ्दा सम्झन मद्दत पुग्छ । मरिमेटेर लेख्दैमा मात्र पनि हुँदैन, किताब हुबहु घोकेर मात्रै पनि हुँदैन । पढेका कुरालाई चिन्तन–मनन गर्नुपर्छ । तथ्य र तर्कलाई अनुभव वा महसुस गर्न पनि सक्नुपर्छ । यसका लागि लेखेर पढ्नु राम्रो विधि हुन सक्छ । परीक्षामा आफूले जानेको नभई प्रश्नले मागेको व्यहोरा तोकिएको समयमा चातुर्यपूर्ण ढाँचाले प्रस्तुत गर्न पनि लेखन अभ्यास चाहिन्छ ।’

समसामयिक विषयमा अप टु डेट हुनुपर्छ, यसले ज्ञानको दायरा बढ्छ । उनी भन्छन्, ‘कतिपय वर्तमानका महत्त्वपूर्ण घटना तयारी पाठ्यपुस्तकमा समेटिन नसकेको पनि हुन सक्छ, कहिलेकाहीँ त्यस्ता प्रश्न पनि सोधिन सक्छन् । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वपूर्ण घटनाबारे जानकारी राखिराख्नुपर्छ ।’

पढेका कुरालाई फुर्सद पाउनेबित्तिकै स्मरण र मनन् गर्नु पनि परीक्षा तयारीको अर्को तरिका हो । यसो गर्दा दिमागमा विषयवस्तु सेट भइरहने र आवश्यकता अनुसार अभिव्यक्त गर्न सकिन्छ ।

‘लोकसेवा पढ्ने विद्यार्थी कल्पनाशील पनि हुनुपर्छ,’ उनी भन्छन्, ‘अगाडि नै लोकसेवा आयोगको परीक्षा उत्तीर्ण भई कार्यालयमा सेवाग्राहीहरूलाई सार्वजनिक सेवा प्रवाह गरेको कल्पना गर्नुपर्छ । यस्तो अभ्यासले भित्रैबाट पढ्ने इच्छाशक्ति जागृत हुन्छ ।’
राष्ट्रिय÷अन्तर्राष्ट्रिय समाचार तथा पत्रपत्रिकाहरू सुन्ने एवं पढ्ने, महत्त्वपूर्ण घटनाक्रम टिपोट गर्ने, सार्वजनिक सेवामा आबद्ध व्यक्तित्वहरूसँग छलफल गर्ने, साथै साथीभाइहरूसँग सहअध्ययन गर्नुपर्छ । यसले परीक्षार्थीलाई नतिजामूलक परीक्षाको तयारीका लागि अत्यन्तै फाइदा पुग्ने भण्डारी बताउँछन् ।

पछिल्ला ७ वर्षदेखि लोकसेवा परीक्षा तयारी कक्षा पढाउँदै आएका अनुप पाण्डे भन्छन्, ‘लोकसेवा जितेर जागिर खानु चानचुने कुरा होइन । अझ पहिलोपटक तयारी गर्नेहरूका लागि त फलामको चिउरा चपाएजत्तिकै गाह्रो पो हुन्छ त । मेहनत गर्न नसक्ने, नजान्ने र नचाहनेले लोकसेवाको परीक्षा नदिनु नै उचित हुन्छ ।’

हरेक समय उत्साहित रहने, मनोबल कम गर्ने कुरा नसोच्ने र सधैँभरि सकारात्मक सोच राख्नाले सफलता दिने उनी बताउँछन् ।
कतिपय साइटमा त अनलाइनबाटै लोकसेवाको विषयगत तथा वस्तुगत अभ्यास गर्न सकिन्छ, लोकसेवाको तयारीसम्बन्धी विभिन्न फेसबुक पेजमा लाइक गर्दा पनि सघाउ पुग्छ । उनी भन्छन्, ‘लरोतरो तयारीले लोकसेवा पास हुन सकिन्न । डटेरै लाग्ने हो भने बाहिर हल्ला भएजस्तो गाह्रो कुरा पनि होइन ।’
धेरै विद्यार्थीले लोकसेवामा असाध्यै चासो र रहर देखाउँदादेखाउँदै सफल हुन नसकेको उनले देखेका छन् । भन्छन्, ‘इच्छा शक्तिले मात्र पनि परीक्षा कटाउन सकिँदैन, पढ्ने विधि वा तरिका जान्नुपर्छ ।’

सम्पूर्ण रुपमा विषयवस्तु बुझ्न, जानकारी हासिल गर्न स्वअध्ययनलाई बढाउनुपर्छ । अनुप भन्छन्, ‘पढ्ने कुरा धेरै छन्, एउटा जानकारी धेरै जानकारीसँग सम्बन्धित हुन सक्छन् । लोकसेवा परीक्षाकै लागि पढ्ने हो भने औसतमा दैनिक ४ देखि ५ घण्टा पढ्नैपर्छ, नत्र पढेर भ्याइँदैन ।’
कसरी सहज र रुचि दिएर पढ्ने त ? अनुप सूत्र दिन्छन्, ‘पास हुनैपर्छ भनेर बाध्यकारी हिसाबले पढ्नु राम्रो होइन, यसले तनाव बढाउँछ । इच्छाशक्तिले रमाइलो मानेर पढ्नुपर्छ, पहिले त इच्छा, रुचि र सपना हुनुपर्यो । त्यसो भएपछि रमाइलो अनुभव गर्दै पढ्न सकिन्छ ।’
अनुभवी शिक्षकले सिफारिस गरेका पुस्तक पढ्दा फलदायी हुन्छ । अनुप पनि उही साधारण सूत्र दोहोर्याउँछन्— अनि, लेखेर पढ्नुपर्छ ।
तोयानाथ अधिकारी भन्छन्, ‘लोकसेवा रहर र करको कुरा होइन ।’

अधिकारी पनि लोकसेवा तयारी कक्षा पढाउँछन्, उनलाई घोकन्ते तयारीमा विश्वास गर्दैनन् । ‘घोकेर होइन, विषयवस्तु बुझेर, केलाएर पढ्नुपर्छ । पुस्तक, इन्टरनेट, पत्रपत्रिकामा पाइने आवश्यक विषयवस्तु खोजीखोजी पढ्नुपर्छ ।’

अधिकारीको सूत्र छ— लगातार पढेर मात्र हुँदैन, बेलाबखतमा आफैँ पनि परीक्षा लिनुपर्छ । त्यस्तै, दैनिक एक घन्टा पढ्ने र ३ घन्टा लेख्ने गर्नुपर्दछ पढ्दै–लेख्दै गरेका कुरा कहिल्यै बिर्सिदैन ।
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment