![]() |
काठमाडौं, ११ असोज । प्रमुख विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला नेपाल–भारतवीच भएका सहमतिप्रति आफ्नो दलको विमति रहेको बताउनुभएको छ ।
संसदको आजको बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले भारतसँग गरिएका असमान र असन्तुलित सहमतिलाई मान्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले नेपाल–भारतसम्बन्ध सप्रिएको भनेर गरेको दाबीको खिल्ली उडाउँदै दुई देशका प्रधानमन्त्रीद्वारा जारी भएको संयुक्त विज्ञप्तिले स्पष्ट पारिदिएको बताउनुभयो ।
‘प्रधानमन्त्री ज्यूले मेरो भारत भ्रमणले दुई देशको सम्बन्ध सप्रियो भन्नुभयो । मैले पनि खोजे कहाँ कहाँ सप्रे छ भनेर खोजे । तर सम्बन्ध सप्रेको त मैले कतै पाइन’, अध्यक्ष ओलीले भन्नुभयो, ‘सम्बन्ध सप्रेको त पाइन । बरु झन् जटिल बनेको छ । आन्तरिक मामिलामा हस्तक्षेप निम्ताइएको छ ।’
प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारेमा सदनलाई जानकारी नदिएकोमा आपत्ति जनाउनु भएका ओलीले भन्नुभयो, ‘प्रधानमन्त्रीले बाहिर बाहिर के–के भन्नुभयो । सदनलाई केही भन्नुभएन । भारतसँग के विग्रिएको थियो र सम्बन्ध सप्रिएको हो ?’
भारतसँग भएको दशौँ नम्बरको बुँदामा नेपालको संविधान कार्यान्वयनको सम्बन्धमा साझा विषय बनाएकोमा ओलीले आपत्ति जनाउनु भयो । उहाँले भननुभयो, ‘संविधान कार्यान्वयनको विषय नेपालको आन्तरिक विषय हो । भारतलाई आन्तरिक विषयमा आमन्त्रण गरिएको छ ।’
प्रधानमन्त्री भारत भ्रमण किन गएको हो मैले बुझेको छैन भन्नुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार बनाउनेवित्तिकै दुई वटा दूत केका लागि पठाउनु भयो ? ज्ञापनपत्र बुझाउन गएको हो कि ? मौखिकमा अविश्वास हुन्छ भने पत्रसहित पठाउनु भयो । नेपालमा के भएको थियो र ? विशेष दूत पठाएको हो ?’
भारतसँगको ११ नम्बर बुँदामा प्रमुख अन्तर्राष्ट्रिय विषयमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा भारतको जस्तै समान धारणा राख्ने कुरा अमान्य रहेको उहाँले बताउनुभयो । उहाँले परराष्ट्र मामिलामा नेपालको आन्तरिक विषयमा कसैसँग बाँधिन नमिल्ने बताउनुभयो ।
‘स्वतन्त्र परराष्ट्र नीति अनुसारको हुनु पर्छ । नेपाललाई छिमेकीले नियन्त्रण गर्ने कुरा उचित हुँदैन । एमालेले गरेको निर्णय नेशनल स्ट्याण्डरको हुने गर्छ । त्यसलाई कसैले अनुसर गर्छ भने बेठिक होइन । राम्रो हो । महेन्द्रबहादुर पाण्डेले भारतसँग गरेको कुरा र अहिलेको विज्ञप्तिमा भिन्नता छ’, ओलीले भन्नुभएको छ ।
संयुक्त विज्ञप्तिको १२औँ बुँदामा खुला सीमाना नियन्त्रण गर्ने विषयमा प्रधानमन्त्री दाहालले राजदूतसँग सम्झौता गरेर सन् १९५० को सन्धिको स्मरण गराई दिएको ओलीले उल्लेख गर्नुभएको छ । राजदूतावासको कर्मचारीसँग प्रधानमन्त्रीले हस्ताक्षर गर्नु कदापि राम्रो नरहेको उहाँको भनाइ छ ।
बुँदा नम्बर २० मा तेलको पाइपलाइनले व्यापारमा अंकुश लगाएको भन्दै ओलीले त्यसलाई पनि मान्न नसकिने उल्लेख गर्नुभएको छ । उहाँले २२ नम्बर बुँदामा व्यापार घाटाका विषयमा पनि सोँच विचार नै नगरेर गरिएको सम्झौताको विरोध गर्नुभयो ।
मुलुक अहिले पनि संक्रमणकालमा रहेको बताउनुभएका अध्यक्ष ओलीले संविधान कार्यान्वयनका लागि आगामी वर्ष माघ ७ गतेभित्र तीन वटा निर्वाचन टुङ्गाइसक्नु पर्ने बताउनु भएको छ । उहाँले स्थानीय निकाय, संसदीय र संघीय चुनाव तोकिएको समयमा गर्नै पर्ने बताउनुभयो । सरकार अहिले मस्त रहेको बताउनुभएका ओलीले भन्नुभयो, ‘दलहरूवीच छलफल पनि छैन । कार्यतालिका छैन । सरकार मस्त छ । एक वर्षभित्र चुनाव गर्न छ । सरकार दङ्ग छ ।’
अहिलेका प्रधानमन्त्री तोकिएकै म्यादी रहेको ओलीको टिप्पणी थियो । ‘मलाई त म्यादी भन्थे । यो त तोकिएकै म्यादी सरकार हो’, उहाँले भन्नुभयो ।
भारत भ्रमणका बेला प्रधानमन्त्रीले मुलुकमा अत्याधिक खोजीको सूचीमा रहेका अपराधिलाई भेट गरेको भन्दै अध्यक्ष ओलीले चर्को आलोचना गर्नुभयो । ‘प्रधानमन्त्रीको भ्रमण राजकीय भनिएको थियो । तर त्यहाँ र होटेलमा उप्परखुट्टी लगाएर खोजीको सूचीमा रहेको अपराधिसँग भेट गरेर कुरा गरेको फोटो देखियो । तयारी विनाको कस्तो राजकीय भ्रमण हो ?’, उहाँले भन्नुभयो, ‘दुई वर्षको बच्चाको हत्या गर्नेलाई मुद्दा पिर्ता लिने कुरा सुनिएको छ । सधै आन्दोलनका नाममा मुद्दा फिर्ता लिन पाइँदैन । हुन त हामीसँग मुद्दा फिर्ताबारे कुराकानी भएको छैन ।’ उहाँले कुनै पनि बहानामा मुद्दा फिर्ता लिन नपाइने बताउनुभयो ।
अख्तियारले छानविन गरिरहेको भनिएको भ्रष्टाचारका बारेमा नामै नलिएर एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘भ्रष्टाचारको छानविन गर्न एमालेले उकासेको छ भन्ने जस्ता आरोप लगाउनु गलत छ । प्रधानन्त्रीले अदालत र अख्तियारसँग मिलाएको छु भन्ने अभिव्यक्ति दिनु कानूनी राज्य र लोकतन्त्रको उपहास हो ।’
सरकारका प्रवक्ताले चीनसँगको व्यापार बढाउन बाटो बनाउने विषयमा सूच्ना तथा सञ्चारमन्त्रीले वातावरणमा प्रभाव पार्ने भनेर दिएको अभिव्यक्तिको पनि ओलीले विरोध गर्नुभयो । ‘सञ्चारमन्त्रीलाई कसरी बुद्धि पलायो वातावरणको ?’, उहाँले भन्नुभयो, ‘चीनसँग बाटो खोल्दा कसरी वातावरण विग्रन्छ ?’
संविधान संशोधन देशलाई आवश्यक्ता पर्दा संशोधन हुन सक्ने बताउनु भएका ओलीले भन्नुभयो, ‘भित्रभित्रै के आवश्यक्ता पर्यो संशोधनको ? संशोधन विकास निर्माण र जनतालाई अधिकार सम्पन्न बनाउन संशोधन हुन्छ ? केका लागि संशोधन ?’ देशमा चुनाव हुन नदिएर देशलाई कता लैजान लागिएको हो भनेर ओलीले प्रश्न समेत गर्नुभयो ।
अहंकार देखाएर संविधान मानिदैन भन्नेहरूप्रति आक्रामक देखिनुभएका ओलीले भन्नुभयो, ‘संविधान मान्नेहरूका माग पूरा गर्न कुनै अप्ठेरो हुँदैन । संविधान अमान्य भनिदैन । अपूर्ण संविधान हुँदैन । त्यसलाई आवश्यक्ता अनुसार संशोधन गर्नुपर्छ ।’ ओलीले आफ्नो अभिव्यक्तिभरि संविधानको रक्षाका पक्षमा कडा अभिव्यक्ति दिएका थिए । ‘तीन जना एउटा कोठामा बसेर संविधान संशोधन भनेर केही हुँदैन’, उहाँले भन्नुभयो ।
सरकारको त्रिमूर्ति मध्येको एउटा नेपाली कांग्रेस अघाएर चुपचाप भएर बसेको भन्दै ओलीले भन्नुभयो, ‘दण्डहीनता, सञ्चारमन्त्रीका अभिव्यक्ति, अपराधिलाई छाड्ने कुरामा केही बोल्दैन ।’ उहाँले कांग्रेसलाई जिम्मेवार भइ मुलुकका लागि काम गर्न सुझाव दिनुभयो ।
मंसिरमा चुनाव हुन नसक्ने सरकारको कामकारबाहीले देखाएको बताउनुभएका ओलीले भन्नुभयो, ‘सिण्डिकेटका पक्षमा एमाले छैन ।’
![]() |

0 comments:
Post a Comment