var adfly_advert = 'banner';

गिरानचौरमा धुर्मुस-सुन्तलीले ठड्याए ६५ वटै घर




सिन्धुपाल्चोकको गिरानचौर हाँस्यकलाकार जोडी सीताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)द्वारा निर्माणाधीन दोस्रो एकीकृत नमूना बस्तीका ६५ वटै घर ठडिएका छन्। बस्नका लागि तयार पारिएका ६५ वटा घर र सामुदायिक भवनको समेत संरचना निर्माणको काम सकिएको छ। करिब ३५ घरमा जस्ताको छानोसमेत लगाइसकिएको छ।

घटस्थापनाका दिनसम्म हस्तान्तरण गर्ने योजनाअनुरुप काम भइरहे पनि दसैंअघि बस्ती हस्तान्तरण गर्न नसकिने सीतारामले सेतोपाटीलाई जानकारी गराए। ‘संरचनाको काम त सबै सकियो,’ उनले भने, ‘समुदायलाई मनाउनुपर्ने, बस्ती निर्माणका लागि पूरा गर्नुपर्ने सरकारी नियमका झन्झट, विभिन्न राजनीतिक दलसँग सम्झौता गर्दाका झन्झट सम्झँदा साह्रै उदेक लाग्थ्यो। घर ठडिएर छानो लगाउँदै गर्दा बस्ती जसरी रंगिन देखिँदै गएको छ, मन पनि उत्तिकै रंगिन हुँदै गएको छ। मन हलुको भएको छ। सबै पीडाहरु बिर्सिएको छ। तर, दुःख एउटै कुरामा छ कि, सबै घर बनाएर ६५ वटै परिवारलाई दसैंमा घरभित्र छिराएर उहाँहरूसँगै दसैं मनाउने सपना थियो। त्यो पूरा हुन सकेन। सबैलाई जित्न सक्यौं, प्रकृतिलाई जित्न सकेनौं। हामीले योपटकको कामबाट सबैभन्दा ठूलो ज्ञान यही पायौं, सबैलाई जित्न सकेपनि प्रकृतिलाई केही गरेपनि जित्न नसकिँदो रहेछ।’

जेठदेखि नै निरन्तर पानी परिरहेकाले वर्षाको असर बस्ती निर्माणमा परेको धुर्मुसको भनाइ छ। वर्षाका कारण कच्ची बाटो ग्राभेल गर्नु परेकाले २५ दिनसम्म बस्ती निर्माणको काम रोकिएको थियो भने बस्तीलाई पहिरो निरोधक बनाउने योजनाअनुरुपको काम गर्दा पनि वर्षाले नै असर गरेपछि केही दिन काम स्थगित भएको थियो। निरन्तर वर्षा हुँदा घोलेका मसाला बगाउनेलगायत अन्य समस्याले गर्दा सोचेको समयमा बस्ती हस्तान्तरण गर्न नसकिने उनको भनाइ छ।

घरका लागि संरचना तयार भए पनि उनीहरूले घोषणा गरेअनुरुपको बालमैत्री, अपांगमैत्री, वातावरण मैत्रीलगायत मापदन्डका लागि गर्नुपर्ने कामहरु बाँकी छन्। केही घरहरू भने बालमैत्री र अपांगमैत्रीका लागि तयार भइसकेका छन्। अपांगता भएका व्यक्तिले सबै घरभित्र ह्विलचियर गुडाएर जान सक्ने तथा बालमैत्री मापदन्डअनुसार संरचनामा बालबालिकाका लागि हुनुपर्ने न्यूनतम सुविधाहरू एकीकृत बस्तीमा हुनेछन्।

बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै धारा र बालबालिका खेल्नका लागि ‘चिल्ड्रन पार्क’ बनाउन बाँकी छन्। अहिले छानो लगाउने, रङरोगन गर्ने, भुइँ चिल्लो बनाउनेलगायतका काम तीब्र गतिमा भइरहेका छन्। यी काम केही दिनमै सकिएर विभिन्न मापदन्डअनुसारको बस्ती तयार पार्न दसैंमा पनि काममा खटिने धुर्मुसले बताए।

‘करिब ८० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘दसैंअघिसम्म करिब–करिब सबै काम सकिन्छ। जेठदेखि परेको पानी अहिलेसम्म परी नै रहेको छ। यदि प्रकृतिले साथ दियो भने बस्तीका मानिसले तिहार नयाँ घरमा मनाउन पाउनेछन्। हामी क्षमायाचना माग्छौं, जसले मनदेखि विश्वास गरेर यत्तिका दिनसम्म साथ दिनुभयो।’
SHARE

About butwaladvertisement

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment